एजेन्सी ! आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा हिजो सम्पन्न एकदिवसीय खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २/२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । नेपाली बलर चम्किँदा स्कटल्याण्डका ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् ।
स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले अर्धसतक ५१ रन योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १/१ विकेट लिए । लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसिय शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।