काठमाडौं ! नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौँमा व्यापक विरोध भएको छ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरेको छ।
सरकारले कुलमान घिसिङलाई हटाउने तयारी गरिरहेको खबर सार्वजनिक भएसँगै संसद् र सडकमा विरोधको लहर फैलिएको छ। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले सरकारको यो कदमको कडा आलोचना गरेका छन्।
यसैबीच, संसद्मा बोल्दै ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङका गतिविधिहरूलाई ‘अराजक’ भन्दै सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन्। साथै, सरकारले घिसिङलाई पदमा कायम राख्नुपर्ने कारणबारे तीन दिने स्पष्टीकरण समेत माग गरेको छ।
कुलमान घिसिङको बर्खास्तीविरुद्ध चौतर्फी विरोध जारी छ। विद्यार्थी संगठनदेखि विभिन्न राजनीतिक दलहरूले सरकारको निर्णयको विरोध गर्दै प्रदर्शनहरू गरिरहेका छन्।