काठमाडौं, चैत्र २८ ! गयरातिको वर्षाका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्डहरूमा पहिरो जाँदा सवारी आवागमन प्रभावित भएको छ। केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध हुँदा कतिपय ठाउँमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।
पूर्ण रूपमा अवरुद्ध भएका सडकहरू:
राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ स्थित पृतीबाङ खोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, सुर्खेत–हुम्ला सडक खण्डमा पर्ने कालिकोटको पचलझर्ना गाउँपालिका–८ मा समेत सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, जाजरकोट सडक खण्ड अन्तर्गत सल्यान जिल्लाको बनगाह, कुविण्डे नगरपालिका–११ को धारापानी क्षेत्रमा पनि सडक अवरुद्ध बनेको छ। यी सबै स्थानहरूमा सवारी चल्न नसकेको जनाइएको छ।
सञ्चालनमा आएका वा आंशिक रूपमा सञ्चालन भइरहेका सडकहरू:
यसैबीच, सल्यानको कपुरकोट गाउँपालिका हुँदै जाने राप्ती सडक खण्ड भने पूर्ण रूपमा सञ्चालनमा आएको छ। साथै, दार्चुलाको गोकुलेश्वर क्षेत्र हुँदै जाने दार्चुला सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
त्यस्तै, बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोसी गाउँपालिकास्थित चारसय बेसी घुमाउने र पिप्ले क्षेत्रमा पनि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
प्रशासनका अनुसार अवरुद्ध सडकहरू खुलाउन डोजर तथा उपकरण परिचालन गरिएको छ भने यात्रुहरूलाई वैकल्पिक मार्ग अपनाउन र सतर्कता अपनाउन आग्रह गरिएको छ।
स्रोत: ट्राफिक प्रहरी