काठमाडौं वैशाख १४ ! प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदै छ।
यस दिन छोराछोरीहरूले आमालाई मीठा खानेकुरा खान दिई, राम्रा लुगा लगाई आशीर्वाद लिने परम्परा छ।
शास्त्रअनुसार, उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि आमालाई ठूली मानिएको छ। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्ने र उनको आशीर्वाद ग्रहण गर्ने यो दिनलाई विशेष महत्वका साथ लिइन्छ।
बिहानै उठी नुहाएर आमालाई मीठा तथा तागतिला खानेकुरा अर्पण गर्ने चलन रहिआएको छ। आमा नभएकाहरूले दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई आमाको सम्झना र कृतज्ञता व्यक्त गर्छन्।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने उल्लेख छ।
वैदिक सनातन धर्मग्रन्थमा भनिएको छ:
“जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी”,
अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् र प्रिय हुन्छन्।
यसैले आमा र जन्मभूमिको सम्मान हाम्रो धर्म र संस्कृतिको अभिन्न अंग हो।










