काठमाडौं साउन ७ ! चनपा–११, सतुङ्गलमा ९४४ जना विद्यार्थीले पाए सेवा चनपागाउँपालिका–११, सतुङ्गलस्थित बिश्नुदेवी शिक्षा सदन माध्यमिक विद्यालयमा एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ। “सदनदेखि सडकसम्म” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त शिविरमा विद्यालयका विद्यार्थी, अभिभावक र स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
शिविरमा ९४४ जना विद्यार्थीहरूले दन्त परीक्षण गराएका थिए भने ४५ जनाले दाँत सफा गर्ने सेवा समेत प्राप्त गरेका थिए। दन्त परीक्षण, परामर्श, सामान्य उपचार, दन्त सरसफाइ लगायत सेवा प्रदान गरिएको यस शिविरमा सहभागीहरूलाई दन्त स्वच्छता, रोग निवारण र नियमित चेकजाँचको महत्वबारे जानकारी पनि दिइएको थियो।
कार्यक्रमको आयोजनकर्ता बिश्नुदेवी शिक्षा सदन मावि रहेको थियो भने प्राविधिक सहयोग ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाले उपलब्ध गराएको थियो। अस्पतालबाट सहभागी चिकित्सक तथा प्राविधिक टोली यस प्रकार रहेका थिए:
डा. प्रतीक प्रभात गौतम
डा. गौरी श्रेष्ठ
डा. आशिका न्यौपाने
डा. सुदेशा अधिकारी
जुनु पण्डित (दन्त सहायक)
रेजिना खड्का (दन्त सहायक)
अञ्जना खड्का (शाखा प्रमुख, ॐ समाज डेन्टल अस्पताल – नैकाप)
विद्यालय प्रशासनले यस्ता स्वास्थ्य शिविरले बालबालिका, अभिभावक तथा समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।










