एजेन्सी पुस ३० ! अमेरिकामा यतिबेला मानवता, करुणा र शान्तिको अनुपम दृश्य देखिएको छ। United Statesको टेक्सास राज्यको Fort Worthबाट २० जना बौद्ध भिक्षुहरूले राजधानी Washington, D.C.सम्म करिब ३७ सय किलोमिटर लामो पैदलयात्रा सुरु गरेका छन्। यस यात्रालाई ‘शान्तिका लागि पैदलयात्रा’ नाम दिइएको छ।
उक्त समूहमा २१ वर्षदेखि ७० वर्षसम्मका भिक्षुहरू सहभागी छन्। उनीहरू विभिन्न राज्य हुँदै अघि बढ्दै गर्दा हजारौँ अमेरिकी नागरिक सडकमा भेला भएर फूल, पानी, खानेकुरा अर्पण गर्दै श्रद्धा र सम्मान प्रकट गरिरहेका छन्। स–साना बालबालिकादेखि वृद्धवृद्धासम्मले भिक्षुहरूप्रति देखाएको माया र सद्भावले यात्रालाई अझ प्रेरणादायी बनाएको छ।
यो शान्ति यात्रामा एउटा विशेष आकर्षण पनि जोडिएको छ। भिक्षुहरूसँगै ‘आलोका’ नामको कुकुर समेत निरन्तर पैदलयात्रामा सहभागी छ। संस्कृत भाषामा ‘आलोका’ शब्दको अर्थ प्रकाश, उज्यालो वा किरण भन्ने हुन्छ। भारतमा यात्राका क्रममा घाइते अवस्थामा भेटिएको उक्त कुकुरलाई भिक्षुहरूले उपचार गरी संरक्षणमा लिएर अमेरिका समेत ल्याएका थिए। अहिले आलोका पनि विश्व शान्ति यात्राको एक यात्रु बनेको छ।
यात्राका क्रममा अमेरिकी बालबालिकाहरूले कुकुरलाई छोएर माया गर्ने, सम्मान प्रकट गर्ने दृश्यले सबैको मन छोएको छ। कतिपय अमेरिकी नागरिकहरू सात–आठ घण्टा गाडी चलाएर भिक्षुहरूलाई भेट्न र दर्शन गर्न आइरहेका छन्। उनीहरू हिँडेको बाटोमा ढोग गर्ने र शान्तिको कामनासहित अभिवादन गर्ने क्रम जारी छ।
भिक्षुहरू जहाँ पुग्छन्, त्यहाँ हजारौँको भीड भेला भएर समूह बनाएर स्वागत गरिरहेको छ। स्थानीय सुरक्षाकर्मीहरूले यात्रालाई सुरक्षित बनाउन सहयोग गरिरहेका छन् भने उनीहरूले समेत उच्च सम्मान प्रकट गरेको देखिन्छ।
यो पैदलयात्रा केवल दूरीको यात्रा होइन, विश्व शान्ति, करुणा र सहअस्तित्वको सशक्त सन्देश बोकेको एक ऐतिहासिक अभियान बनेको छ।
#Peace #Buddha










