Home मुख्य सूर्यविनायक–१० मा १७ करोडका ६८ विकास योजना सञ्चालनमा : वडा अध्यक्ष राउत

सूर्यविनायक–१० मा १७ करोडका ६८ विकास योजना सञ्चालनमा : वडा अध्यक्ष राउत

237
0

बाबुराम दाहाल

भक्तपुर, असार १२ ! सूर्यविनायक नगरपालिका वडा नं. १० का वडा अध्यक्ष शिवराम राउतले आफ्नो वडामा हाल १७ करोड रुपैयाँ बराबरका ६८ वटा विकास योजना सञ्चालन भइरहेको जानकारी दिएका छन्।

सूर्यविनायक नगरपालिकाको समन्वय तथा सहयोगमा क्रियाशील पत्रकार मञ्च भक्तपुरले बिहीबार वडा कार्यालयको सभाहलमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अध्यक्ष राउतले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार संघ र प्रदेश सरकारबाट प्राप्त करिब ८ करोड रुपैयाँको बजेटमार्फत विभिन्न पूर्वाधार विकासका कार्यहरू अघि बढिरहेका छन्। अमेरिका–इरान तनावका कारण बिटुमिनलगायत निर्माण सामग्रीको अभाव हुँदा केही योजनाको कार्यान्वयनमा चुनौती देखिए पनि अन्य विकास गतिविधि भने जनताको आवश्यकता र मागअनुसार अघि बढाइएको उनले बताए।

अध्यक्ष राउतले निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने प्रयास भइरहेको उल्लेख गर्दै जनविश्वास कायम राख्न आफू प्रतिबद्ध रहेको बताए। वडा कार्यालय जनताका लागि सधैं खुला रहने र विकास निर्माणका कार्यमा स्थानीयवासीको सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो।

सूर्यविनायक नगरपालिका सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नगरपालिकाको बेरुजु दर १.०२ प्रतिशतमा सीमित रहेको जानकारी दिए। उनका अनुसार यो उपत्यकाकै न्यून बेरुजु भएको नगरपालिका हो भने सुशासनको क्षेत्रमा देशभर १९औँ स्थानमा रहेको छ।

“म सादा जीवन र उच्च विचारको सिद्धान्तअनुसार जनसेवामा समर्पित छु,” उनले भने, “पुर्ख्यौली पाँच–सात रोपनी जग्गा भाडामा लगाएर घरखर्च चलाएको छु। साथै क्यानडामा रहेकी छोरीको आम्दानीले पनि जीवनयापनमा सहयोग पुगेको छ।”

वडामा एम्बुलेन्स सञ्चालनमा समस्या देखिएको उल्लेख गर्दै उनले नेपाल रेडक्रस सोसाइटीले चालक व्यवस्थापन तथा मर्मतसम्भार गर्न कठिनाइ भएको जनाएपछि एम्बुलेन्स सेवा प्रभावित भएको बताए। यस समस्याको समाधानका लागि नगरपालिकामार्फत पहल गरिने उनको प्रतिबद्धता थियो।

वडाका योजनासम्बन्धी सूचना सार्वजनिक गर्न सूचना पाटी अनिवार्य गर्ने, महिला लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउन बजेट व्यवस्था गर्ने तथा मेलमिलापकर्ताहरूका समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

कार्यक्रममा वडा सचिव कुमार राउतले वडामा सञ्चालित राजनीतिक, प्रशासनिक, विपद् व्यवस्थापन तथा पूर्वाधार विकासका योजनाबारे जानकारी गराएका थिए। उनका अनुसार सडक, शिक्षा, चौतारा, पार्क तथा बगैंचालगायत १६ वटा वडास्तरीय योजनाका लागि १ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको थियो। तीमध्ये १५ वटा योजना सम्पन्न भइसकेका छन् भने एउटा योजना निर्माणाधीन छ।

त्यसैगरी कृषि, महिला, ज्येष्ठ नागरिक, एकल महिला, दलित, रोजगारमूलक कार्यक्रम, बालबालिका, युवा तथा खेलकुद, स्वास्थ्य, सरसफाइ, सिकाइ तथा अपांगता क्षेत्रका सामाजिक कार्यक्रमका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। उक्त बजेटअन्तर्गत छनोट भएका १२ कार्यक्रममध्ये ८ वटा सम्पन्न भइसकेका छन् भने ४ वटा कार्यान्वयनको क्रममा रहेका छन्।

सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीले जनप्रतिनिधिको जीवनशैली, सूचना पाटी, एम्बुलेन्स सेवा, रोजगारमूलक तालिम, सडक पूर्वाधार तथा मेलमिलापकर्ताका लागि बजेट व्यवस्थापनलगायत विषयमा प्रश्न तथा सुझाव राखेका थिए।

जनताको चासो, गुनासो र सुझाव संकलन गरी सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा भौतिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा वातावरणीय विकासका विषयमा समेत व्यापक छलफल भएको थियो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति जनकराज कार्की, स्थानीयवासी विश्व कार्की, सजना कार्की तथा राजकुमार कार्कीले सुशासन र पारदर्शितालाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए।

क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर कार्यपालिका सदस्य शर्मिला लम्साल बस्नेतले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रममा वडा सदस्य ताराबहादुर विष्ट, विदुर देउजा, राधिका मिजारलगायतको उपस्थिति रहेको थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here