काठमाडौं । टिकटकको मूल कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।
ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सलाई उद्धृत गर्दै सार्वजनिक भएका रिपोर्टअनुसार झाङको अनुमानित सम्पत्ति १०५ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ। यससँगै उनले भारतीय उद्योगपति गौतम अडानीलाई पछि पारेका हुन्।
झाङको सम्पत्ति सन् २०१९ मा करिब १३ अर्ब डलर रहेकोमा पछिल्लो समय आठ गुणाभन्दा बढी बढेको रिपोर्टमा उल्लेख छ। बाइटडान्सको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा विस्तार, विशेषगरी डौबाओ च्याटबट र सीडान्स भिडियो जेनेरेसन टुलको वृद्धिले उनको सम्पत्ति बढाउन योगदान गरेको बताइएको छ।
यससँगै प्रविधि तथा एआई क्षेत्रमा भएको तीव्र विस्तारले एसियाका अर्बपतिहरूको सम्पत्ति संरचनामा समेत उल्लेखनीय परिवर्तन ल्याएको देखिएको छ।










