तनहुँ l तनहुँको भिमाद नगरपालिका–१, किहुँमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र घर्ती क्षेत्रीले विशेष समारोहबीच नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी, तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्की, विशेष सुरक्षा गण बेलचौताराका प्रमुख एसपी महेश थापा, प्रदेश प्रहरी कार्यालय पोखराका एसपी श्यामु अर्याल तथा राष्ट्रिय अनुसन्धान कार्यालयका उप–अनुसन्धान निर्देशक मनोज ढकाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय आमा समूहका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा भद्रभलादमीहरूको समेत सहभागिता थियो।
नवनिर्मित सुविधासम्पन्न प्रहरी चौकी भवन सञ्चालनमा आएसँगै किहुँ क्षेत्रको शान्ति–सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने तथा स्थानीय नागरिकलाई प्रहरी सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।










