काठमाडौं जेठ १ ! अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा अनियमितताको आरोपमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आरोपितमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा, पुरुषोत्तम खनाल, सदस्यहरू धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, निर्देशकहरू विजयकुमार राय, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, सन्दिप अधिकारी, अच्युतानन्द मिश्र, परामर्शदाता कम्पनीका प्रमुख जमल अनौती, स्थानीय प्रतिनिधि दिलीपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेल छन्।आयोगले सबै आरोपितविरुद्ध जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी गरेको छ।
बस्नेतमाथि पदीय अधिकारको दुरुपयोग गरी प्राधिकरणको प्रस्तावबिना थप कार्यक्रम समावेश गरेको, खरिदमा पूर्वतयारी, लागत अनुमान र गुरुयोजना नबनाएर हानीनोक्सानी पुर्याएको आरोप छ।