वाशिङ्टन, जेठ २२ ! अमेरिकी सरकारले सुरक्षा र कूटनीतिक चासोलाई कारण देखाउँदै अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई देश प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ। ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो।
साथै, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक प्रतिबन्धको सूचीमा राखिएको छ। आंशिक प्रतिबन्ध अन्तर्गत ती देशका नागरिकहरूलाई अमेरिका प्रवेशका लागि विशेष प्रक्रिया तथा अनुमति आवश्यक पर्नेछ।
ह्वाइट हाउसका प्रवक्ताले भने, “यी प्रतिबन्धहरू अमेरिका र अमेरिकी जनताको सुरक्षाका लागि अत्यावश्यक कदम हुन्। हामी अन्तर्राष्ट्रिय मापदण्ड र मानव अधिकारको सम्मान गर्दै कार्य गरिरहेका छौं।”
अमेरिकाले पछिल्लो समय आफ्नो आव्रजन नीति कडा बनाउँदै आएको छ। यसअघि पनि केही मुस्लिम बहुल देशहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको थियो, जसलाई आलोचना गर्दै विभिन्न मानव अधिकार संगठनहरूले अमेरिकी नीतिलाई विभेदकारी भनेका थिए।
परिणाम र चासो
नयाँ प्रतिबन्धसँगै ती देशका हजारौं नागरिकको अमेरिका यात्रामा असर पर्नेछ। विशेष गरी अध्ययन, स्वास्थ्य उपचार, शरणार्थी प्रक्रिया र पारिवारिक पुनर्मिलनका लागि आवेदन दिँदै आएका नागरिकहरू मर्कामा पर्ने सम्भावना देखिएको छ।
मानव अधिकारकर्मीहरूले भने यस कदमको आलोचना गर्दै यसले अन्तर्राष्ट्रिय सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्। उनीहरूको भनाइमा, “यस्ता प्रतिबन्धहरूले शरणार्थी तथा पीडित समुदायको मानव अधिकारमा ठेस पुग्छ।”
अमेरिकी सरकारले भने समयानुसार प्रतिबन्धको पुनरावलोकन गरिने स्पष्ट पारेको छ।