बाजुरा जेठ २४ ! बुढीगङ्गा नगरपालिका–६ अन्तर्गत पर्ने बाम्का बजारमा हिजो दिउँसो ग्यास सिलिण्डर पड्किँदा भएको आगलागी बेलुकी मात्रै नियन्त्रणमा आएको छ। दमकलको अभाव र चर्को हावाहुरीका कारण आगो नियन्त्रणमा कठिनाइ भएको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिनुभयो।
आगलागी बजारको एक होटलमा खाना पकाउने क्रममा सुरु भएको थियो। घटनामा झन्डै ४० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विस्थापित व्यापारी तथा परिवारहरू छिमेकीको आश्रयमा रहेका छन्। आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा समेत अवरुद्ध भएको छ।