एजेन्सी असार ४! सन्दीप लामिछानेको घातक बलिङ प्रदर्शनको मद्दतले नेपालले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको एकल खेलमा स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ। ग्लास्गोस्थित टिटवुड मैदानमा गए राति सम्पन्न खेलमा नेपालले ९८ रनको लक्ष्य पछ्याउँदै १९.५ ओभरमा आठ विकेट गुमाउँदै जीत हासिल गरेको हो।
खेलको सुरुआत स्कटल्याण्डको ब्याटिङबाट भयो। नेपाली बलरहरूमाथि टिक्न नसकेको स्कटल्याण्ड १९.४ ओभरमा जम्मा ९७ रनमै समेटिएको थियो। नेपाली टोलीका लागि बलिङतर्फ सन्दीप लामिछाने सबैभन्दा प्रभावशाली रहे। उनले चार विकेट लिएर स्कटिश ब्याटिङ लाइनलाई तहस–नहस पारिदिए। साथै, दीपेन्द्र सिंह ऐरी र करण केसीले दुई–दुई विकेट लिए भने ललित राजवंशी र लोकेश बमले समान एक–एक विकेट हात पारे।
बलिङमा सशक्त प्रदर्शन गरे पनि नेपालको ब्याटिङ सहज देखिएन। लक्ष्य सानो भए पनि नियमित अन्तरालमा विकेट गुमाउँदै गर्दा नेपाली टोलीमा दबाब सिर्जना भएको थियो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए। उनले केही आकर्षक स्ट्रोक खेल्दै सुरुआत राम्रो गरे पनि अन्य ब्याट्सम्यानले खासै चम्किन सकेनन्। दीपेन्द्र सिंह ऐरी र वसीम अहमदले समान १३–१३ रन बनाउँदै इनिङलाई धानेका थिए। केशव ठगुन्नाले १० रनको योगदान दिए। बाँकी खेलाडीहरू दोहोरो अंक जोड्न असफल भए।
नेपालले अन्ततः १९.५ ओभरमा आठ विकेटको क्षतिमा ९८ रन जोड्दै खेल जित्यो। बलिङतर्फको पकड र केही निर्णायक साझेदारीहरूले नेपालको जित सुनिश्चित गरे। सन्दीप लामिछानेको चार विकेटको योगदानले उनलाई खेलको ‘प्लेयर अफ द म्याच’ घोषणा गरिएको छ।
सस्तो लक्ष्यका बाबजुद नेपाललाई पूर्ण नियन्त्रणमा राखेर सहज जित निकाल्न भने सकस देखिएको थियो। बलिङमा सशक्त देखिएको टोलीले आगामी खेलहरूमा ब्याटिङ सन्तुलन कायम गर्नुपर्ने देखिन्छ।










