Home राजनीति कानुनभन्दा माथि कोही छैन, कुनै पनि दबाब वा प्रलोभनमा नपरी निष्पक्ष सेवा...

कानुनभन्दा माथि कोही छैन, कुनै पनि दबाब वा प्रलोभनमा नपरी निष्पक्ष सेवा दिन्छौं” : एसपी रुपक खड्का

36
0

राजविराज – सप्तरी जिल्लाका नवनियुक्त प्रहरी प्रमुख (एसपी) रुपक खड्काले कानुनको शासनलाई प्राथमिकतामा राख्दै कुनै पनि दबाब वा प्रलोभनमा नपरी निष्पक्ष रूपमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको उक्त अभिव्यक्तिले जिल्लावासीमा सकारात्मक सन्देश प्रवाह गरेको छ। स्थानीय समाजसेवीहरूले एसपी खड्काको भनाइलाई स्वागत गर्दै जिल्लामा सुशासन र कानुनी राज्य स्थापनाको आशा बढेको बताएका छन्।

“हामीले लामो समयदेखि खोजेको कुरा अहिले उहाँको मुखबाट सुन्न पाउँदा परिवर्तनको संकेत देखिएको छ,” एक समाजसेवीले प्रतिक्रिया दिए।

एसपी खड्काले राजविराज नगरभित्रको ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकतामा राख्ने बताउँदै सप्तरी जिल्ला अदालतले २०६७ सालमा दिएको आदेश कार्यान्वयनमा ल्याइने जानकारी दिए। सडक पेटी अतिक्रमण, जथाभावी पार्किङ तथा अव्यवस्थित ट्राफिक व्यवस्थापनलाई सुधार गर्न प्रहरी प्रशासन दृढतापूर्वक लाग्ने उनको भनाइ छ।

“राजविराजको मुख्य सडक सवारी साधनका लागि र सडक पेटी पैदल यात्रुका लागि व्यवस्थित रूपमा प्रयोग भएको दृश्य नै सुन्दर शहरको पहिचान हो,” एसपी खड्काले भने।

राजविराज प्रवेश गर्दा आफूले पनि अव्यवस्थित पार्किङ र ट्राफिक समस्याको अवस्था देखेको उल्लेख गर्दै उनले त्यसको दीर्घकालीन समाधानका लागि ठोस पहल गरिने बताए। उनले नागरिक, स्थानीय तह, सरोकारवाला निकाय र सञ्चार माध्यमको सहयोगबाट राजविराजलाई व्यवस्थित, सुरक्षित र सुन्दर शहरका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे।

एसपी खड्काको प्रतिबद्धताप्रति स्थानीयवासीले आशा व्यक्त गर्दै अब व्यवहारमै सुधार देख्न चाहेको बताएका छन्। जिल्लामा शान्ति सुरक्षा, सुशासन तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उनको योजनाले सकारात्मक अपेक्षा जगाएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here