२२ असार, काठमाडौं । उत्तर अमेरिकामा जारी २३औँ संस्करणको फिफा विश्वकपमा उपाधिको बलियो दाबेदार मानिएको ब्राजिल अन्तिम–१६ बाटै बाहिरिएको छ।
अन्तिम–१६ को खेलमा युरोपेली टोली नर्वेसँग २–१ ले पराजित भएपछि पाँच पटकको विश्वविजेता ब्राजिलको विश्वकप यात्रा अप्रत्याशित रूपमा समाप्त भएको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्डले दुई गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए। ब्राजिलले इन्जुरी समयमा एक गोल फर्काए पनि हार टार्न सकेन।
खेलको पहिलो हाफमै ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। तर उक्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा टोली दबाबमा परेको थियो। त्यसपछि नर्वेले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक जित निकाल्न सफल भयो।
यस जितसँगै नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने उपाधिको प्रमुख दाबेदार मानिएको ब्राजिल अन्तिम–१६ बाटै घर फर्किन बाध्य भएको छ।
यसैबीच, नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्डले यस खेलमा दुई गोल गर्दै प्रतियोगितामा आफ्नो कुल गोल संख्या ७ पुर्याएका छन्। यससँगै उनी सर्वाधिक गोलकर्ताको दौडमा लियोनेल मेस्सी र किलियन एम्बाप्पेसँग बराबरीमा पुगेका छन्। हाल तीनै खेलाडीको नाममा समान ७–७ गोल रहेको छ।










