Home समाचार ललितपुरमा ‘ब्लु बर्ड सुपर लिग’ उद्घाटन, चार खेलमा विद्यार्थीले प्रतिस्पर्धा गर्ने

ललितपुरमा ‘ब्लु बर्ड सुपर लिग’ उद्घाटन, चार खेलमा विद्यार्थीले प्रतिस्पर्धा गर्ने

274
0

ललितपुर । ललितपुरको ग्वार्कोस्थित एभिएस विद्यालयको प्राङ्गणमा ‘ब्लु बर्ड सुपर लिग’को उद्घाटन गरिएको छ। पूर्वसञ्चारमन्त्री जगदीश पोखरेलले एक समारोहबीच लिगको उद्घाटन गरेका हुन्।

‘ब्लु बर्ड सुपर लिग’मा क्रिकेट, फुटबल, भलिबल र बास्केटबल गरी चार खेल समावेश गरिएको एभिएस विद्यालयका प्रिन्सिपल दीपकराज जोशीले जानकारी दिए।

ललितपुर जिल्लाभरिका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले निर्धारित फाराम भर्नुपर्नेछ।

विद्यार्थीको खेल प्रतिभा पहिचान गर्नुका साथै उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल जोशीले बताए।

प्रतियोगितामा सहभागी खेलाडीको छनोट सम्बन्धित खेलका क्याप्टेनले गर्ने व्यवस्था गरिएको छ। उद्घाटन समारोहमा विभिन्न खेलका क्याप्टेनहरूको नामसमेत सार्वजनिक गरिएको थियो।

आयोजक समितिका संयोजक जितेन्द्र श्रेष्ठका अनुसार प्रत्येक खेलका क्याप्टेनले आफ्नो टोलीका खेलाडी छनोट गर्नेछन्। छनोट भएका खेलाडीको जर्सीमा राखिने नाम तथा आवश्यक विवरणसमेत क्याप्टेनले आयोजकलाई उपलब्ध गराउनुपर्नेछ।

प्रतियोगिताको प्राविधिक तयारी एक साताभित्र पूरा गरी आगामी शुक्रबारदेखि खेल सञ्चालन गर्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए। प्रतियोगिताको ग्रान्ड फाइनल आगामी मंसिरमा आयोजना गरिनेछ।

समारोहमा ब्लु बर्ड कलेजका प्रिन्सिपल बीएस क्षेत्रीले विद्यार्थीको रुचि, क्षमता र समयको मागअनुसार कलेजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। कलेजले सुरुआत गरेका कतिपय कार्यक्रमलाई अन्य शैक्षिक संस्थाले समेत अनुकरण गर्दै आएको उल्लेख गर्दै उनले त्यसप्रति गौरव महसुस गरेको बताए।

कार्यक्रमका प्रमुख अतिथि पूर्वसञ्चारमन्त्री जगदीश पोखरेलले युवा देशको शक्ति भएको बताए। युवाको पहिचान र सफलतासँग देशको पहिचानसमेत जोडिने उल्लेख गर्दै उनले खेलकुदले युवाको क्षमता, अनुशासन र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

‘ब्लु बर्ड सुपर लिग’मार्फत विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै ललितपुर क्षेत्रका प्रतिभाशाली खेलाडीको पहिचान र विकासमा सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here