काठमाण्डौ ! आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल १०३ रनले पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाल पराजित भएको हो ।
क्यानडाले दिएको दुई सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर एक बलमा एक सय ५० रन मात्र जोड्न सक्यो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल एक रनमै आउट भए । यस्तै आशिफ शेख तीस बलमा २० रन जोडेर आउट भए ।
क्यानडाका डेलिन हेलिगरले ५ विकेट लिन सफल भए। त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ५३ रन बनाएको थियो । जसमा नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले २/२ विकेट लिएका थिए । सन्दिप लामिछाने १, करण केसी १ र रोहित पौडेल ले १ विकेट लिएका थिए।
यसअघि एक दिवसीय क्रिकेट प्रतियोगितामा क्यानडासँग भएको तीनवटा खेलमा नेपालले क्लिन स्विप हानेको थियो । जितसँगै क्यानडा आठ खेलमा पाँच जित र चार हारका साथ अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित नेपाल चार खेलमा एक जित र चार हारका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ । विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा आठ टोलीको सहभागीता छ । नेपालले दोस्रो खेलमा भोलि ओमानसँग, तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।