Home समाचार वैकल्पिक चिकित्सा प्रवर्द्धनमा आयुर्वेद चिकित्सालयको सक्रियता : ताछिखेलमा पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

वैकल्पिक चिकित्सा प्रवर्द्धनमा आयुर्वेद चिकित्सालयको सक्रियता : ताछिखेलमा पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

93
0
Google search engine

ललितपुर, जेठ ११ – “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ ललितपुरको ताछिखेलस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। वैकल्पिक चिकित्सा प्रणालीको प्रभावकारिता र सेवाको पहुँचलाई व्यापक बनाउने उद्देश्यले गरिएको उक्त कार्यक्रममा चिकित्सालयका गतिविधि, सेवा विस्तार र भविष्यको योजना बारे जानकारी गराइएको थियो।

कार्यक्रममा बोल्दै चिकित्सालयकी कार्यालय प्रमुख सृजना मरासिनीले न्यूनतम स्रोत र साधनका बाबजुद पनि गुणस्तरीय सेवा प्रवाह गरिरहेको जानकारी दिइन्। उनले वैकल्पिक चिकित्सा प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गएको बताउँदै पत्रकारहरूको माध्यमबाट आम जनतालाई सेवा र उपलब्ध सुविधाबारे जानकारी दिन सकिने विश्वास व्यक्त गरिन्। वैकल्पिक उपचार प्रणालीको प्रचार–प्रसार तथा नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धिका लागि यस्ता अन्तर्क्रियाहरू उपयोगी हुने उनको भनाइ थियो।

चिकित्सालयले हालसम्म प्रदान गर्दै आएका सेवाहरूमा बहिरङ्ग (ओपीडी) सेवा, सरकारद्वारा निःशुल्क उपलब्ध गराइने २३ प्रकारका आयुर्वेद औषधि वितरण, ल्याब परीक्षण, अकुपंचर, पञ्चकर्म, स्वस्थ जीवन शैलीसम्बन्धी परामर्श सेवा, जेष्ठ नागरिक लक्षित विशेष सेवा लगायत उल्लेखनीय छन्। प्रस्तुत विवरण अनुसार चालु आर्थिक वर्षमा २,१५९ जनाले ओपीडी सेवा लिएकोमा अघिल्लो आर्थिक वर्षमा यो संख्या ७,२०६ रहेको थियो। सेवा उपयोगकर्ताको संख्यामा घटबढ भए पनि नियमित सेवा प्रवाहमा कुनै कमी नभएको चिकित्सालयले जनाएको छ।

कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार प्रभु नारायण बस्नेतले वैकल्पिक चिकित्सा प्रणालीको महत्त्वबारे चर्चा गर्दै एलोपेथिक औषधिको अत्यधिक प्रयोगले दीर्घकालीन समस्या निम्त्याउन सक्ने तर्क प्रस्तुत गरे। उनले आयुर्वेद पद्धतिलाई शास्त्रीय, प्राकृतिक र दीर्घकालीन प्रभाव दिने उपचार विधिका रूपमा व्याख्या गर्दै राज्यले यसप्रति आवश्यक ध्यान दिनु पर्नेमा जोड दिए। बस्नेतले सरकारी नीति तथा बजेटमा वैकल्पिक चिकित्सा प्रणालीलाई प्राथमिकता दिनु आवश्यक रहेको बताए।

कार्यक्रमले आयुर्वेद तथा वैकल्पिक चिकित्सा प्रणालीको महत्व, उपलब्ध सेवाहरू, सेवा विस्तारको चुनौती तथा भविष्यमा यसले लिन सक्ने दिशा सम्बन्धी बहसको वातावरण सिर्जना गरेको थियो। पत्रकारहरूलाई आम जनसमुदायसम्म यस्ता सेवाको जानकारी पुर्‍याउने माध्यमका रूपमा उपयोग गर्ने उद्देश्यले गरिएको यो कार्यक्रम सफल भएको आयोजक पक्षको भनाइ छ।

यस किसिमका कार्यक्रमले जनताको स्वास्थ्यप्रति जिम्मेवारीबोध गराउने मात्र नभई, परम्परागत चिकित्सा पद्धतिहरूको प्रचार र सम्वर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्रोतसाधनको अभावका बाबजुद पनि सेवा निरन्तरता कायम राख्न चिकित्सालयको प्रतिबद्धता उदाहरणीय रहेको सहभागीहरूले बताएका छन् ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here