काठमाडौं जेठ ११ ! वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १८ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ। यसअघि जेठ १७ देखि १९ गतेसम्मका लागि तय भएको मिति प्राविधिक कारणले एक दिन सारिएको वाईसीएलका सचिव तथा प्रचारप्रसार विभाग सचिव नवराज ऐरले जानकारी दिएका छन्।
फागुन २१ गते बसेको केन्द्रीय कार्यालयको बैठकले सुरुमा सम्मेलनको मिति तय गरेको थियो। यो सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ र यसको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको छ।
यो सम्मेलनले वाईसीएलको नयाँ नेतृत्व चयन गर्नेछ र संगठनका भावी कार्यदिशा तय गर्नेछ। यसअघिका सम्मेलनमा सहमतिमा नेतृत्व चयन हुने गरेको परम्परा रहेको भए पनि यसपटक भने प्रतिनिधीले नेतृत्व चयन गर्न पाउने सम्भावना रहेको बताइएको छ।