ललितपुर, जेठ १३ ! मंगलबार जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय र ललितपुर महानगरपालिकाको संयुक्त जिल्ला बजार अनुगमन समितिको टोलीले ललितपुर महानगरपालिका–२३, धापाखेलस्थित कर्मनशा खोलाको किनारमा रहेका पानी उद्योगहरूमा अनुगमन गरेको छ।
अनुगमनका क्रममा तीनवटा पानी उद्योगमध्ये दुईवटाले खोलाको पानी प्रयोग गरिरहेको पाइएको छ भने एक उद्योग बन्द अवस्थामा रहेको छ ।
‘सुद्ध मुहानको पानी सेवा‘ मा ७५ हजार रुपैयाँ जरिवाना
‘सुद्ध मुहानको पानी सेवा’ नामक पानी उद्योगले सरसफाइ नगरेको, दर्ता प्रमाणपत्र र अन्य आवश्यक इजाजतपत्र नभएको पाइयो। उक्त उद्योगले कर्मनशा खोलाको पानी मोटरद्वारा पोखरीमा जम्मा गरी प्रशोधन गरी प्रतिट्यांकर (७,००० लिटर) तीन सय रुपैयाँमा बिक्री गर्दै आएको पाइएको छ।
प्रादेशिक औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ४६ को उपदफा (२) बमोजिम कसुर गरेको देखिएकाले अनुगमन टोलीले उद्योगलाई ७५ हजार रुपैयाँ जरिवाना गर्यो। साथै, तीन दिनभित्र सबै कागजातसहित उद्योग तथा वाणिज्य कार्यालयमा उपस्थित हुन उद्योगका सञ्चालक उज्वल शाक्यलाई निर्देशन दिएको छ।
‘जय श्री गणेश पानी ढुवानी सेवा‘ मा ३० हजार रुपैयाँ जरिवाना
‘जय श्री गणेश पानी ढुवानी सेवा’ ले बिना बिल र दर्ता प्रमाणपत्र, ढुवानी सेवा लेखी कर्मनशा खोलाको पानी प्रशोधन गरी घरायसी प्रयोजनका लागि भन्दै उपभोक्तालाई बिक्री गर्दै आएको पाइएको छ।
प्रादेशिक औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६० को खण्ड (ख) बमोजिम १५,००० रुपैयाँ र सोही ऐनको दफा ४४ बमोजिम थप १५,००० रुपैयाँ, गरी कुल ३०,००० रुपैयाँ जरिवाना गरिएको छ।
‘आक्वा विभुति‘ उद्योग बन्द अवस्थामा
अनुगमन टोलीले ‘आक्वा विभुति’ नामक पानी उद्योग पनि अनुगमन गरेको थियो, तर उद्योग बन्द अवस्थामा रहेको पाइयो। उक्त उद्योगबारे जनगुनासो आएका कारण अनुगमन गरिएको हो।
पानीको गुणस्तर परीक्षण नगरी बिक्री
उद्योगहरूले घरायसी प्रयोजनका लागि भन्दै पानी बिक्री गर्दै आएको भए पनि पानीको गुणस्तर परीक्षण नगरी बिक्री गरिएको पाइएको छ। प्राकृतिक स्रोतको बिना कुनै इजाजत खुलमखुला बिक्री गरिएकोले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै अनुगमन टोलीले चिन्ता व्यक्त गरेको छ।
अनुगमन टोलीले सम्बन्धित उद्योगहरूलाई तोकिएको समयमा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिँदै, भविष्यमा यस्ता अवैध क्रियाकलाप नगर्न चेतावनी दिएको छ।