अहमदाबाद, जेठ २१ ! लामो समयदेखि प्रतीक्षित जितसँगै रोयल च्यालेन्जर्स बेङ्गलुरु (RCB) ले इन्डियन प्रिमियर लिग (IPL) को उपाधि जित्न सफल भएको छ। गएराति भारतको अहमदाबाद नरेन्द्र मोदी अन्तर्वस्त्र रंगशालामा सम्पन्न फाइनल खेलमा पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गर्दै बेङ्गलुरुले ऐतिहासिक सफलता हात पारेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको RCB ले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन बनायो। टोलीका लागि विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए। पन्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ विकेट लिए।
जवाफमा १९१ रनको लक्ष्य पछ्याएको पन्जाबले ७ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो। पन्जाबका लागि सशंक सिंहले उत्कृष्ट प्रदर्शन गर्दै ६१ रन बनाए। RCB का भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २–२ विकेट लिएर टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।
सिजनको लिग चरणमा पन्जाब पहिलो र बेङ्गलुरु दोस्रो स्थानमा थिए। पहिलो क्वालिफायरमा पन्जाबलाई नै हराएर फाइनल पुगेको बेङ्गलुरुले अन्ततः उपाधि कब्जा गर्न सफल भयो। पन्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराएर फाइनल यात्रा तय गरेको थियो। आईपीएलको इतिहासमा ७ टोलीले उपाधि जितिसकेका थिए। अब RCB पनि आठौँ च्याम्पियनको रूपमा सूचीमा नाम लेखाउन सफल भएको छ।