ललितपुर, जेठ २४ ! नेपाल पत्रकार महासंघ ललितपुर शाखाले समाजसेवी सिद्धिबहादुर महर्जनको आर्थिक सहयोगमा ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। यसै सिलसिलामा उनले आफ्नी स्वर्गीय धर्मपत्नी हिराकुमारी महर्जनको स्मृतिमा रु. ५ लाखको अक्षयकोष पनि स्थापना गर्नुभएको छ।
शनिबार भएको कार्यक्रममा महर्जनले उक्त रकमको चेक महासंघलाई हस्तान्तरण गर्नुभयो। यसअघि उनले महासंघका अध्यक्ष रामहरि कार्कीसँग औपचारिक सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। महर्जनले यो पहलले पत्रकारहरूलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले महर्जन परिवारको योगदानलाई सराहना गर्दै यसले पत्रकारहरूलाई निष्पक्ष र निर्भीक पत्रकारिता गर्न प्रेरित गर्ने बताए। महासंघका पूर्व अध्यक्ष ज्ञानप्रसाद पौडेलले यस्ता पहल अघि बढाउन आवश्यक रहेको बताए।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले ललितपुर शाखालाई उपत्यकाकै सक्रिय शाखा मान्दै यसको प्रशंसा गरे।
महासंघका अध्यक्ष कार्कीका अनुसार, यो पुरस्कार हरेक वर्ष जिल्लाका दुई सक्रिय पत्रकारलाई धर्म, संस्कृति, कला र स्थानीय सरोकारमा उत्कृष्ट पत्रकारिता गरेकोमा दिइनेछ। पुरस्कार राशि अक्षयकोषको ब्याजबाट सञ्चालित हुनेछ।
कार्यक्रममा स्व. हिराकुमारी महर्जनका छोरा प्रेमसिंह महर्जन र सरोज डंगोल सहित महासंघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।