Home समाचार ललितपुरमा सूचना प्रविधि र दिगो वित्तीय व्यवस्थापनबारे राष्ट्रिय सम्मेलन सम्पन्न

ललितपुरमा सूचना प्रविधि र दिगो वित्तीय व्यवस्थापनबारे राष्ट्रिय सम्मेलन सम्पन्न

24
0

काठमाडौं ! ललितपुरस्थित एकेडेमिया इन्टरनेसनल कलेजले सूचना प्रविधि र दिगो वित्तीय व्यवस्थापनबीचको सम्बन्धलाई केन्द्रमा राख्दै राष्ट्रिय सम्मेलन आयोजना गरेको छ।

कलेजको अनुसन्धान व्यवस्थापन कक्ष (आरएमसी) को आयोजनामा सम्पन्न एकदिने सम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन, बिग डाटा, क्लाउड कम्प्युटिङ, फिनटेक, साइबर सुरक्षा तथा डिजिटल सुशासनजस्ता आधुनिक प्रविधिले वित्तीय व्यवस्थापनमा ल्याइरहेको परिवर्तनबारे विभिन्न सत्रमा छलफल गरिएको थियो।

कार्यक्रम उद्घाटन, मुख्य वक्तव्य, समानान्तर प्राविधिक शोधपत्र प्रस्तुति तथा समापन सत्र गरी चार चरणमा सञ्चालन गरिएको आयोजकले जनाएको छ।

उद्घाटन समारोहमा कलेजका पदाधिकारी, सञ्चालक समितिका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले उच्च शिक्षालाई कक्षाकोठामा सीमित नराखी अनुसन्धान, नवप्रवर्तन र समाजका वास्तविक समस्याको समाधानसँग जोड्नुपर्नेमा जोड दिएका थिए।

अनुसन्धान व्यवस्थापन कक्षका प्रमुख डा. राजन बिलास बज्राचार्यले सूचना प्रविधिको तीव्र विकाससँगै वित्तीय प्रणालीलाई थप पारदर्शी, प्रभावकारी, उत्तरदायी र समावेशी बनाउन आधुनिक प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको धारणा राख्नुभयो। उहाँले नीति निर्माता, अनुसन्धानकर्ता, उद्योग क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य बढाउन यस्ता सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

सम्मेलनमा सूचना प्रविधि, वित्तीय व्यवस्थापन, नवप्रवर्तन र दिगोपनासम्बन्धी २० वटा छनोट भएका अनुसन्धानपत्र प्रस्तुत गरिएको थियो। प्रस्तुत शोधपत्रहरूले नयाँ अनुसन्धान, नीति निर्माण र अन्तरविषयगत सहकार्यका सम्भावना उजागर गरेको आयोजकको भनाइ छ।

कलेजले आफ्नो इतिहासमै पहिलो पटक यस प्रकृतिको राष्ट्रिय सम्मेलन आयोजना गरेको जनाउँदै यसलाई अनुसन्धान संस्कृति प्रवर्द्धन, ज्ञान आदानप्रदान र शैक्षिक उत्कृष्टता अभिवृद्धितर्फको महत्वपूर्ण प्रयासका रूपमा लिएको जनाएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here