काठमाडौं साउन ३ ! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसद्का बहुमत सदस्यहरुको समर्थनमा बिश्वासको मत पाउनुभएको छ ।
आइतवार पुनः स्थापित ब्यवस्थापिका संसदमा भएको निर्वाचन प्रक्रियामा देउवाको प्रस्तावको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ जनाले मतदान गर्नुभएको छ । मत दिन्न भन्ने पक्षमा १ मत परेको छ ।
प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाका अनुसार मतदानमा २४९ उपस्थित भएका थिए जसमा प्रधानमन्त्री देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपा, एमाले माधव नेपाल पक्ष र जनमोर्चाका सांसदहरुले मत दिएका हुन् ।
यस अघि सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।
शेरबहादुर देउवा असार २९ मा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । नियुक्त भएको एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार देउवाले आइतबार विश्वासको मत लिनुभएको हो ।