पोखरा जेठ २६ ! पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक पुरुषको शव ३५ फिट गहिराइबाट फेला परेको छ।
गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–३ मनकामना निवासी ४३ वर्षीय राजेश श्रेष्ठ हिजो बेलुका पोखरा महानगरपालिका–३१ स्थित माझीकुना क्षेत्रको बेगनास तालमा पौडी खेल्ने क्रममा हराएका थिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणबाट खटिएको गोताखोर टोलीले आज बिहान श्रेष्ठको शव फेला पारेको हो। सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार शव तालको झन्डै ३५ फिट गहिराइमा फेला परेको थियो।
तालमा गर्मी याममा बढ्दो भीडसँगै सुरक्षा सतर्कता बढाउनुपर्ने स्थानीय बासिन्दाले बताएका छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।